FAQs Complain Problems

ताजा समाचार

प्रदेश एक्सपोको भव्य तयारी

- केएल पीडित

दोस्रो स्थापना दिवसको अवसरमा ५ नं. प्रदेश सरकारले फागुन १०, ११ र १२ गते दाङमा प्रदेश एक्स्पोको आयोजना गरेको छ ।

गत माघ १० गते आन्तरिक मामिला तथा कानून मन्त्री कूलबहादुर केसीको संयोजनमा ३८ सदस्यीय मूल समारोह समिति र ९ वटा उपसमिति गठन गरी प्रदेश सरकार प्रदेश सरकार एक्स्पोको व्यापक तयारीमा जुटेको छ । मुख्यमन्त्री शंकर पोख्रेल एक्स्पोको प्रमुख सल्लाहकार हुनुहुन्छ भने सभामुख पूर्णबहादुर घर्ती सल्लाहकार हुनुहुन्छ ।

प्रदेशमा पहिलोपटक आयोजना गरिएको एक्स्पोले प्रदेशवासीमा निकै उत्साह देखिएको छ । प्रदेश नं. ५ का मुख्यमन्त्री एवं प्रदेश एक्स्पोका प्रमुख सल्लाहकार शंकर पोख्रेलले एक्स्पोले प्रदेशको संभावनाहरु उजागर गर्ने र यस क्षेत्रको उत्पादन एवं संस्कृतिको प्रवद्र्धन गर्ने बताउनु भयो । एक्स्पो संयोजक एवं आन्तरिक मामिला तथा कानून मन्त्री कूलबहादुर केसीले एक्स्पोलाई उत्सवकै रुपमा मनाउने तयारी भइरहेको बताउनु भयो ।

एक्स्पोका उद्देश्यहरु
प्रदेश सरकारले एक्स्पोलाई प्रदेश सरकार स्थापनाको २ वर्षको उपलब्धीबारे जानकारी गराउने र ५नं. प्रदेशभरिका स्थानीय उत्पादन, मौलिक लोककला, संस्कृति, स्थानीय ज्ञान, सीप, प्रविधिहरुको प्रवद्र्धन गर्ने उद्देश्य बताएको छ ।

मूलरुपमा प्रदेश सरकार स्थापनादेखि हालसम्मका गतिविधि र उपलब्धिबारे जानकारी दिने, प्रदेश नं. ५ को विविधता, उत्पादन, पहिचान, संस्कृति र विकासको स्थितिको जानकारी प्रदान गर्ने, ‘समृद्ध प्रदेश, खुशी जनता’को लक्ष्य पूरा गर्न समान उत्साह र समान खुशी पैदा गर्न अभिप्रेरित गर्ने, प्रदेश नं. ५ मा कृषि, पर्यटन, स्वास्थ्य, शिक्षा तथा संस्कृतिको विकासलाई नमूनाको रुपमा स्थापना गरी विकासमा उत्साह ल्याउने र प्रदेश सरकार र स्थानीय तहको सम्बन्धलाई सुदृढीकरण गर्ने ५ वटा उद्देश्य प्रदेश सरकारले लिएको छ ।

के के छन् त कार्यक्रमहरु

प्रदेश एक्स्पोमा प्रदेश सरकारका ७ मन्त्रालय, प्रदेश योजना आयोग, ५ नं. प्रदेशका १२ जिल्ला, दाङका जिल्ला समन्वय समिति र १० पालिकाको विशेष प्रस्तुती र प्रदर्शन रहनेछ भने विद्यालय, कलेज, समुदाय र नीजि क्षेत्रबाट महत्वपूर्ण कार्यक्रम, प्रस्तुती र प्रदर्शन रहेको छ ।

एक्स्पोमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले २ वर्षको अवधिमा गरेका कार्यहरुको डिजिटल फ्लेक्स बोर्ड तथा अन्य माध्ययमबाट प्रस्तुती सहित डकुमेन्ट्री तथा भिडियो प्रदर्शन गर्नेछ । आर्थिक मामिला तथा योजना मन्त्रालयले एक्स्पोमा प्रदेश अन्तर्गतका स्थानीय तहका अधिकारीहरुका लागि वित्तीय व्यवस्थापनको परामर्श तथा तालिम संचालन गर्नेछ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले विपद् अवस्थामा गरिने उद्दार कार्यको अभ्यास, राहत व्यवस्थापन तथा वितरण प्रणालीको प्रस्तुती दिनेछ भने एक्स्पोमा भौतिक तथा पूर्वाधार विकास मन्त्रालयले नवीन निर्माण प्रविधि तथा भूकम्प प्रतिरोधी संरचना सम्बन्धी प्रदर्शनी, भवन निर्माण प्रविधि, खानेपानी, सिंचाइ, नवीन तथा नविकरणीय उर्जा सम्बन्धी प्रदर्शन र झोलुङ्गे पुलको डेमोन्स्ट्रसन आदि कार्यक्रम प्रस्तुत एवं प्रदर्शन गर्नेछ ।

उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले होमस्टे संचालनका लागि हस्पिटालिटी सम्बन्धी तालिम, स्थानीय प्रविधि र उत्पादनहरुको प्रदर्शन, नवप्रवर्तन प्रविधिमा आधारित कार्यहरुको प्रस्तुती, आर्ट एण्ड क्राफ्ट प्रदर्शनी, थाङका पेन्टिङ, २ वटा मण्डला निर्माण, चर्या नृत्य, सारंगी वादन तथा प्रदेश नं. ५ का नाच तथा साँस्कृतिक झाँकीहरुको प्रस्तुती दिनेछ ।

सामाजिक विकास मन्त्रालयले योगा, मेडिटेसन, माइन्ड फुलनेस कार्यक्रम, शैक्षिक तथा वैज्ञानिक कार्यक्रमहरु, युवा तथा बालबालिका लागि नवीन खेलहरु, वृहत स्वास्थ्य शिविर, विशेषज्ञ डाक्टरद्वारा मुटु र क्यान्सर रोगको निःशुल्क परीक्षण, इ स्वास्थ्य, टेलि मेडिसिन, इ सिकाई प्रविधिहरुको प्रस्तुती गर्नेछ भने भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले ५ नं. प्रदेशका प्रमुख कृषि प्रविधि तथा उत्पादनहरुको प्रदर्शनी, भूमि व्यवस्था तथा सहकारी सम्बन्धी प्रदर्शनी, पानी शुद्धिकरण, जैविक मल, खोप आदिको प्रत्यक्ष सेवा तथा जानकारी प्रवाह गर्नेछ ।
प्रदेश योजना आयोगले २ वर्षका गतिविधि, प्रगति तथा सेवाप्रवाहबारे जानकारी सहित आवधिक योजनाबारे प्रस्तुती दिनेछ ।

यी कार्यक्रम बाहेक प्रदेश एक्स्पोमा प्रदेश नं. ५ का १२ जिल्लाका पहिचान झल्किने उत्पादन, लोककला, नाच, झाँकी, स्थानीय खाना तथा परिकारहरुको प्रस्तुती एवं प्रदर्शनी हुनेछ । नीजि क्षेत्र, विद्यालय÷कलेज एवं समुदायबाट विविध अविष्कार एवं उत्पादनहरुको प्रदर्शनी रहनेछन् ।

कस्तो छ तयारी ?
गत माघ १० गते मूल समारोह समिति गठनसंगै एक्स्पो संयोजक एवं आन्तरिक मामिला तथा कानून मन्त्री कूलप्रसाद केसी अहोरात्र एक्सो तयारीमा जुट्नु भएको छ । मन्त्री केसीको संयोजन र निर्देशनमा सांसद, राजनीतिक दल, जनप्रतिनिधि, कर्मचारी, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, १२ जिल्लाका स्थानीय पालिका, संचारकर्मी, उद्याग व्यवासीय तथा अन्य क्षेत्र, समुदाय र व्यक्तिहरु एक्स्पोको तयारीमा खटेका छन् । मन्त्री केसीले सबै कार्य व्यवस्थित एवं उत्साप्रदरुपमा भइरहेको बताउनु भयो ।

जिल्ला समन्वय समिति दाङका उपप्रमुख एवं अतिथि स्वागत एवं व्यवस्थापन उपसमितिका संयोजक श्रीधर शर्मा पौडेलले एक्स्पो स्थल निर्माण कार्य सकिएको र अब स्टल एवं मंच निर्माणको काम शुरु हुने बताउनु भयो । उपप्रमुख पौडेलले एक्स्पोको उत्कृष्ट व्यवस्थापनका लागि दाङका सबै क्षेत्र र निकाय उत्साहपूर्वक परिचालित भएको बताउँदै प्रदेशभरिका करीब १ हजार विशिष्ट पाहुनाहरुको स्वागत तथा व्यवस्थापनका लागि होमस्टे निर्माण गरिने जानकारी दिनु भयो ।

समाचार स्रोतः https://sisneonline.com/2020/02/18/6752/

आर्थिक वर्ष: