FAQs Complain Problems

ताजा समाचार

‘भूमे दर्पण’ विमोचित

काठमाडौं– रूकुम (पूर्व)को भूमे गाउँपालिकाको पर्यटकीय जानकारी समेटिएको पुस्तक ‘भूमे दर्पण’ र तीनवटा वृत्तचित्र एकसाथ सोमबार राजधानीमा सार्बजनिक गरिएको छ। भूमे गाउँपालिकाद्वारा आयोजित कार्यक्रममा प्रतिनिधि सभाका सभामुख कृष्णबहादुर महरा र संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रविन्द्र अधिकारीले सार्बजनिक गरेका हुन्। 

पर्यटनविज्ञ सुरेन्द्र रानाको पुस्तकमा सिंगो गाउँपालिकाको प्राकृतिक सम्पदा, मगर संस्कृति र जीवनशैली सचित्र चित्रण गरिएको छ। माओवादी जनयुद्धको उद्गमथलो मानिएको भूमे क्षेत्रका जनयुद्धसँग जोडिएका सम्पदा पनि त्यसमा समेटिएको छ। 

‘भूमे गाउँपालिका युद्द पर्यटन अध्ययन केन्द्र मात्रै होइन’, पर्यटनविज्ञ राना भन्छन्, ‘प्राकृतिक र साँस्कृतिक सौन्दर्यको स्वाद चाख्न चाहनेका लागि समेत भूमे सुन्दर गन्तव्य हो।’

कार्यक्रममा तिनै रानाले निर्देशन गरेको ‘हाम्रो भूमे हाम्रो संस्कृति’ र कुमार चौलागाईंले निर्देशन गरेको ‘भूमेको भूगोल’ एवं ‘गुरिल्ला पर्यटन’ वृतचित्र सार्बजनिक गरियो। ‘पुस्तक र वृत्तचित्रले भूमेको प्रवर्द्धनमा गर्न टेवा पुग्नेछ’, गाउँपालिकाका अध्यक्ष रामसुर बुढा भन्छन्, ‘हामी भूमेलाई पर्यटकीय गाउँपालिका बनाउन चाहन्छौं।’  

गाउँपालिकाले पर्यटनबाट समृद्धिका पाइला चाल्न पुस्तक र वृतचित्र निर्माण गरेको हो। सोमबारदेखि नै पर्यटन बोर्डको आँगनमा भूमेका तस्बिर प्रदर्शनी सुरु भएको छ। त्यसमा ज्योति केशरसिंह, अमृत भादगाउँले, आरके अदिप्त गिरी र सुरेन्द्र रानाले खिचेका ३४ वटा तस्बिर छन्। प्रदर्शनी बुधबारसम्म चल्नेछ। 

 

स्रोतः https://nagariknews.nagariknetwork.com/news/55926/

आर्थिक वर्ष: